रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने- स्वर्णिम र मुकुललाई दिइयो जिम्मा

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद, संगठन) मा सल्लाह-सुझावका आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन लाग्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए ।


बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकाललाई जिम्मेवारी तोकेको छ । उनीहरूले पार्टीका मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्नेछन् ।

ढकालले भने, ‘सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरेको छ। साथै सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरेका छौं ।’

पार्टीको केन्द्रीय अनुशासन आयोगमा दीपक अधिकारी र शान्ता थापा मनोनयन गरेको छ । यस्तै, बैठकले केन्द्रीय जनसम्पर्क विभाग गठन गर्ने निर्णय गरेको समेत उनले बताए ।

विभागको प्रमुखमा इश्रामुल्ला मिया रहेका छन् भने सदस्यमा कुमारबहादुर थापा क्षेत्री रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!