प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- ‘अपराधीसँग हात मिलाएको र नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस्’

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ |  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्‍याएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्देशन दिए ।

‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस्। अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस्’, उनले भने, ‘कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’


कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न भनेका छन् ।

‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’, लामिछानेले भने ।

उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी पनि दिए । प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न रहेको देखिए हदैसम्मको कारबाही हुने भन्दै उनले थपे, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।‘

गृहमन्त्री लामिछानेले आफू प्रहरी समायोजन र ३० वर्षे सेवा अवधि हटाउने विषयमा स्पष्ट रहेको बताएका छन् ।

‘तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ । यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ’, उनले भने, ‘प्रहरी समायोजन टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सरोकारवालासँग छलफल र गृहकार्य गर्नुपर्छ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!