राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | राप्रपाका कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा आक्रमण भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार बिहान आक्रमण भएको नेता दीपकबहादुर सिंहले जानकारी दिए । 


सिंहका अनुसार आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका मानिस रहेका छन् । आक्रमणपछि उनीहरू फरार रहेका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए । 

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो । 

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!