जसपाले दुई मन्त्री पाउने, को को छन् आकांक्षी ?

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | सरकारमा सहभागी हुने निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्दैछ । स्रोतका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णयसंगै दुई मन्त्रीको पनि टुङ्गो लगाउनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव यो पटक मन्त्री बन्ने छैनन् ।


संघमा जसपा १२ सांसद छन् । मधेशमा जसपाको नेतृत्व छ । मधेश सरकार चार वर्षकै लागि सुरक्षित रहने अबस्था नदेखेपछि जसपा सरकारमा जान नहुने अधिकांश कार्यकारिणी सदस्यको जोड थियो ।

तर जसपा नयाँ गठबन्धनमा सहभागी नभए मधेशमा सरकारको नेतृत्व जनमत पार्टीले पाउने सम्भावना छ । त्यसैले पनि अन्ततः जसपा सरकारमा सहभागी हुने बुझिएको छ ।

बैठकले सरकारमा सहभागी हुने निर्णयसँगै मन्त्रीको समेत टुङ्गो लगाउने जसपाका एक नेताले बताए ।

ती नेताका अनुसार मन्त्रीका चार आकांक्षी छन्, राजकिशोर यादव, प्रदिप यादव, दिपक कार्की र नवलकिशोर साह । अध्यक्ष उपेन्द्र यादव भने यो पटक मन्त्री बन्न अनिच्छुक देखिएका छन् ।

राजकिशोर र प्रदिप मन्त्री भइसकेका छन् । दिपक धनुषामा माओवादी नेता मातृकालाई पराजित गरेका छन् । त्यसैले उनलाई मन्त्री बनाउनुपर्ने धेरै नेताको जोड छ ।

नवलकिशोर अघिल्लो मधेश सरकारमा सामाजिक विकास मन्त्री थिए । सप्तरी १ बाट निर्वाचित उनले पनि मन्त्री बन्न लविङ गरिरहेको स्रोतको दावी छ ।

जसपा स्रोतका अनुसार चार नेताले मन्त्रीको लविङ गरिरहेपनि प्रदिप र दिपकलाई सरकारमा पठाउने सम्भावना बलियो छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!