आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ: गगन थापा

Posted on: 26 Feb, 2024

फागुन १४, काठमाडौँ | सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् । 

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । 

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”

यस बिषयमा तपाइको प्रतिक्रिया...!