शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा, टेकनाथले बुझाएनन् धरौटी

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।

६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् ।

सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् ।

रिजालले धरौटी बुझाएका छैनन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । कारागारमा सँगै बस्नेहरूसँग धरौटी रकमबारे रिजालले भनेका छन्– ‘त्यति धेरै पैसा तिर्न सक्ने अवस्था छैन ।’

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले रायमाझीसहित ५ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मध्येका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!