रवि लामिछाने मलेसियाबाट भने 'म राजनीतिमा आउनुको कारण विदेशमा रहेका नेपाली पनि हुन्'

Posted on: 03 Dec, 2023

मङ्सिर १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणका क्रममा छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा बेलायत हुँदै नेपाल फर्किने छन् ।


सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले लेखेका छन्, ‘अवसर र रोजगारको लागि विदेश जानु पर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख-कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ । म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन् । विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो।' 

लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्दै आफ्नो पार्टका सांसदहरूले संसद्को गरिमा जोगाइरहेको बताए । लामिछानेले पार्टी निर्माणको अभियान अन्तर्गत औपचारिक विदेश यात्रा मलेसियाबाट सुरु गरेको बताए । लामिछानेले आफ्नो सम्वोधनमा आफ्नो पार्टी कुनै पनि हालतमा अरू पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गरे । उनले भने 'रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।' उनले अगाडी भने 'रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौँ, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।' 


सभापति लामिछानेले मलेसिया भ्रमण पच्नी आफू कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्न जाने समेत जानकारी दिएका छन् । मलेसियामा सभापति लामिछाने सहित पत्नी  सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सह–कोषाध्यक्ष दीपकराज बोहरा लगायत उपस्थित छन् । 

सभापतिको सचिवालयका अनुसार लामिछाने २१ मंसिरमा कतार जाने तय भएको छ । उनि २३ गतेसम्म कतारमा रहने छन् । त्यस्तै २४ गतेदेखि २८ गतेसम्म बेलायतमा रहनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!