उपनिर्वाचनका लागि चितवन-२ मा २४ जनाले गराए उम्मेदवारी दर्ता

Posted on: 04 Apr, 2023

चैत २१, काठमाडौँ | आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

चितवन-२ मा १२ राजनीतिक दलका प्रतिनिधि र १२ जना स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा रास्वपा, काँग्रेस, एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगायतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारमध्ये २ जना महिला रहेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारविरुद्ध दाबी विरोधको लागि समय छुट्टाएकाे छ ।  

नागरिकता विवादमा मुछिएपछि तत्कालिन सांसद रवि लामिछानेको सांसद पद खारेज भएपछि हुन लागेको उपनिर्वाचनमा पुनः रवि स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका छन भने एमालेबाट गत मंसिरमा चितवन ३ बाट अन्तिम समयमा ब्याक भएका रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट निवर्तमान उपसभापति जितनारायण श्रेष्ठबिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको हो ।

गत निर्वाचनमा एमाले र कांग्रेसको उम्मेदवार भन्दा दोब्बर बढि मत ल्याएर विजयी भएका लामिछानेले आज उम्मेद्वारी दर्ताको क्रममा यो पटक पनि जित निश्चित भएको दाबी गर्दा कांग्रेस र एमालेका उम्मेदवारहरुले पनि परिणाम पहिलेको निर्वाचनको भन्दा फरक आउने र आ-आफुले जित्ने दाबी गरेका छन् ।

उपनिर्वाचन भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा एमाले सहितका अन्य साना दलहरुले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!