विमानस्थलबाट​​​​​​​ सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता

Posted on: 19 Dec, 2023

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘नागरिक उड्डयनका चार कर्मचारी नियन्त्रणमा छन्, उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ नागरिक उड्डयनका कर्मचारी सुन तस्करीमा पक्राउ परेको पहिलोपटक हो । भन्सार, एयरलाइन्स र प्रहरीका कर्मचारी भने विगतमा पनि पक्राउ परेका थिए । 


पक्राउ परेकाहरू तल्लो तहका कर्मचारी हुन् । पक्राउ पर्नेमा प्लम्बर, सुरक्षागार्ड तथा अप्रेटरहरू रहेको भन्सार स्रोत बताउँछ । उनीहरूले विमानस्थलको सुरक्षा कमजोरी पत्ता लगाई सुन पास गराउने गरेका थिए । विमानस्थलमा सरसफाइको काम गर्ने तीन कर्मचारी पनि पक्राउ परिसकेका छन् । विदेशबाट आउनेसँग शौचालयमा सुन लिने र उनीहरूले फोहोरभित्र राखेर पास गराउँदै आएका थिए । यसरी लामो समयदेखि सयौँ केजी सुन तस्करी भइसकेको आशंका गरिएको छ । 
ad
गत २२ मंसिरमा भन्सारले १४ किलो सुन बरामद गरेपछि यसमा छानबिन सुरु भएको हो । दुबईबाट आएका मीनबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनीजस्तै विगतमा सुन ल्याउने श्रीकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् । तस्करीको व्यवस्थापनमा संलग्न चन्द्र घलेसहित १० जना पक्राउ परिसकेका छन् ।
सुन तस्करी गर्ने भरियाहरूले पाँच रुपैयाँको नोट लिएर जाने, सो नोट दुबईका एजेन्टलाई दिने गर्दथे । ती एजेन्टहरूले उनीहरूलाई सुन दिएर पठाउने गरेको खुलेको छ । ‘एक तहबाट अर्काे तहबीच सम्बन्ध टुटाएर संगठित रूपमा तस्करी हुने गरेको देखिन्छ,’ भन्सार प्रमुख पाण्डेले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!