माइनस २६ डिग्री सेल्सियस चिसो सहेर सीमा सुरक्षा

Posted on: 14 Dec, 2023

मङ्सिर २८, काठमाडौं | बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम मापन भयो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बुधबार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिन गएको हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । बुधबार त्यसभन्दा पनि तल झरेको हो ।

५ डिग्रीभन्दा माथिको तापक्रममा पनि काठमाडौं उपत्यकावासीले चिसो महसुस गरिरहँदा नेपालको उत्तरी सीमामा कार्यरत सुरक्षाकर्मीले कसरी आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने कौतूहलता जोसुकैलाई पनि लाग्न सक्छ । किनकि, माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा रहेर उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ ।

समुन्द्री सतहबाट ४ हजार १ सय ३२ मिटरको उचाइमा रहेको सुदूर पश्चिमको दार्चुलास्थित बोर्डर आउट पोस्ट (बीओपी) तिंकरमा कार्यरत सशस्त्र प्रहरीका सुरक्षाकर्मीले अहिले माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा काम गर्नुपरिरहेको छ ।

यस ठाउँमा विगत चार महिनादेखि सशस्त्र प्रहरी बल नेपालको उपस्थिति छ । व्यास गाउँपालिका–१ तिंकरमा २२ भदौ २०८० मा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको हो । यस क्षेत्रको अन्तर्राष्ट्रिय सीमादेखि करिब ११ किलोमिटरको दूरीमा बीओपी रहेको छ । सदरमुकामबाट १ सय १२ किलोमिटर टाढा रहेको बीओपी तिंकर उच्च हिमाली भेग र भिरालो जमिनमा अवस्थित छ ।

बीओपी स्थापना र सिमानामा सिपाहीको उपस्थिति स्थानीय बासिन्दाका लागि सुरक्षाको प्रत्याभूति र राष्ट्रियताप्रतिको भावनात्मक सम्बन्ध जोड्ने सेतुसमेत भएको छ ।

उता, समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा रहेको हुम्लाको हिल्सामा पनि माइनस २६ डिग्री सेल्सियसको तपक्रममा सशस्त्र प्रहरीले काम गर्नुपर्ने अवस्था छ । ६ असार २०७७ मा हिल्सामा बीओपी स्थापना भएको हो ।

यो ठाउँ सदरमुकामबाट ९६ किलोमिटर र अन्तर्राष्ट्रिय सिमानादेखि ३ सय मिटरको दूरीमा अवस्थित छ । हिल्सामा मंसिरदेखि फागुनसम्म हिउँले ढाक्ने भएको हुँदा अत्यन्त चिसोमा सुरक्षाकर्मीले काम गर्नुपर्ने अवस्था छ । यो समाचार राजधानी दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!