अध्यागमन र एयरलाइन्सका कर्मचारी यसरी मिलाउँथे भिजिट भिसाको सेटिङ

Posted on: 13 Dec, 2023

मङ्सिर २७, काठमाडौँ | सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई गत असोज १९ गते नियन्त्रणमा लिएयता अध्यागमन विभागका अधिकृत नरवीर खड्काको कनेक्सन खुलेको थियो ।

९ महिनाअघि मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर पुगेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तत्कालै पक्राउ गरेन ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरी उनी विरुद्ध ठोस प्रमाण संकलन गर्न निगरानी गरिरहेको थियो । उनै खड्का मङ्गलवार आफ्नै निवासबाट पक्राउ परे । ती अनुसन्धान अधिकारीका अनुसार एजेन्टका रूपमा काम गर्ने पदम खड्काले घरमै पुर्‍याएर २ लाख रुपैयाँ बुझाएलगत्तै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

‘उनले प्रहरी देख्नेवित्तिकै आफूसँग भएका केही डकुमेन्ट नष्ट गर्न खोजेका थिए’, ती अधिकारी भन्छन् ।

भिजिट भिसामा सेटिङमा पठाएबापत उनले एक जनाबापत १० देखि १५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार खड्काको साथबाट सेटिङका केही डकुमेन्टहरू पनि बरामद भएका छन् । प्रहरीले नेपाल एयरलाइन्सका एक जना अधिकृत र नासुलाई पनि पक्राउ गरेको छ। उनीहरूले सेटिङमा जाने व्यक्तिसँग ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने नेपाल एयरलाइन्सका कर्मचारीहरूमा अरविन यादव र होम पोखरेल छन् ।


‘सेटिङमा जाने व्यक्ती नफर्किने र उतै बस्ने भएकाले एयरलाइन्सका कर्मचारीको भूमिका पनि हामीले सुरुबाटै शंका गरेका थियौँ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले भने ।

प्रहरीले कम्तीमा ५ वटा एयरलाइन्सका कर्मचारीहरू यति बेला छानबिनमा रहेको जनाएको छ।

भिजिट भिसामा जान तयार भएर बसेका २ सय ४६ जनाको राहदानीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । फेक डकुमेन्ट बनाएर यात्रामा सहजीकरण गरेको भन्दै ६ वटा ट्राभल एजेन्सीका सञ्चालक पनि पक्राउ परेका छन् ।

‘विमानस्थलमा कार्यरत प्रहरीकै भूमिका पनि शंकास्पद देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ । चाँडै नतिजा आउँछ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले यसअघि पनि प्रहरी अधिकारीलाई पक्राउ गरेको छ। हालसम्म यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् ।

जसमध्ये ९ जनामाथि संगठित अपराधमा अनुसन्धान भइरहेको छ भने १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। त्यसबाहेक ८ जना भने धरौटीमा छुटिसकेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!