छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना, खाना र औषधि नपाउँदा एक महिनामा मरे ४० चौपाया

Posted on: 04 Dec, 2023

मङ्सिर १८, रुपन्देही | रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना दिइएको छ।

कात्तिकको दोस्रो हप्ता संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले विनायोजना हतारहतार कोषपरिसरमा तारबार गरी करिब तीन सय छाडा चौपाया राखेका थिए। करिब तीन बिघा क्षेत्रफलमा तारजाली लगाएर राखिएको छाडा चौपायालाई समयमै दानापानी र औषधिको व्यवस्था नहुँदा अहिले चौपायाहरू मर्न थालेका छन्।

चौपाया व्यवस्थापनका लागि कोषले एकजना र नगरपालिकाले ६ जना कर्मचारी राखे पनि उनीहरूले सही तरिकाले काम नगर्दा समस्या थप जटिल हुन थालेको स्थानीयको गुनासो छ। चौपाया एक महिनादेखि परालको भरमा छन्। तिनीहरूले हरियो घाँस, दाना र औषधि देख्न पनि पाएका छैनन्।

अस्थायी रूपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रूपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थापन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भए पनि काम नहुँदा दैनिकजसो चौपायाहरू मर्न थालेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!