चितवन राष्ट्रिय निकुञ्जभित्र दुई गैंडा मार्ने ८ जना पक्राउ, २० दिन जंगलमै बसेको थियो तस्कर समूह

Posted on: 30 Nov, 2023

मङ्सिर १४, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जले कोर एरियामा खाडल खनेर दुईवटा गैंडा मारी खाग बिक्री गर्न लागेको आरोप पक्राउ परेका ८ जनालाई खागसहित सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाको उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार पक्राउ पर्नेहरुमा मुख्य योजनाकार ३३ वर्षका रमेश खाती र थिङ बाजे भन्ने ५६ वर्षका सीताराम थिङ हुन् ।


हेटौंडा उपमहानगरपालिका- ३ लेबर्ट घर भएका खातीलाई प्रहरीले मंसिर ९ गते चितवनको राप्ती- ६ बाट पक्राउ गरिएको थियो । खातीलाई यसअघि एक पटक गैंडा शिकारकै अभियोगमा सोधपुछको लागि निकुञ्ज लगिए पनि अपराधमा संलग्न भएको प्रमाण नभएकोले अभियोजन प्रक्रिया अघि नबढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

सोही मितिमा गैंडा शिकार अभियोगमा ४२ वर्षका पासाङ भन्ने आइतसिंह मोक्तान पक्राउ परेका छन् । राप्ती- ११ थाकलटार घर भएका मोक्तान पनि राप्ती- ६ बाटै पक्राउ परेका थिए । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा ४४ वर्षका शमशेर थिङ पक्राउ परेका छन् । मकवानपुर- ९ घर भइ हेटौंडा- ४ बस्दै आएका थिङलाई पनि राप्ती- ६ बाटै पक्राउ गरिएको हो । राप्ती ६ क्षेत्रबाट नै गैंडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार थिङ बाजे पक्राउ परेका छन् । उनी मकवानपुरको मनहरी- ६ नयाँ बस्तीका हुन् ।

हेटौंडा- ५ का २८ वर्षका अर्जुन रोका राप्ती- ६ बाटै पक्राउ परेको प्रमुख संरक्षण अधिकृत पुनले बताए । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका- ११ का घले भन्ने ७७ वर्षका धनबहादुर गुरुङ पनि छन् । रोका र गुरुङ दुबै खाग बिक्री वितरण गर्ने अभियोगमा पक्राउ परेका हुन् । राप्ती- ११ बस्ने ४० वर्षका उनबहादुर स्याङतानलाई राप्ती- ५ बाट पक्राउ गरिएको थियो । उनी गैंडा शिकारी अभियोगमा पक्राउ परेका हुन् । गैंडा शिकारी अभियोगमै मनहरी- ७ ज्यामिरे घर भइ माडी- ९ बाँदरझुला बस्ने ५६ वर्षका इन्द्र भन्ने स्याङ्बो तामाङ छन् । उनलाई राप्ती- ५ बाट मंसिर ११ गते पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बीस दिन जंगलमै बसेको थियो गैंडा तस्करको समूह

असोज ३० गते चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा दुई वटा पोथी गैंडा मारिएको थियो । निकुञ्जको चपरचुली सुरक्षा पोष्टको ३ किलोमिटरको मात्रै दुरीमा रहेको उक्त क्षेत्रमा २० दिनसम्म तस्कर समूहले बिताउँदा पनि निकुञ्ज सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा गस्ती टोलीले जानकारी नपाएको देखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक ढुङ्गानाले ५ दिनअघि उक्त क्षेत्रमा सुरक्षा गस्ती गएको पत्रकार सम्मेलनमा बताए । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले भने सुरक्षा गस्ती पाँच दिनअघि पुगेको भने पनि २० दिनसम्म तस्करको टोली जंगलमै बास बसेको जनाएको छ ।

उनीहरुको साथबाट बरामद गरिएको सामग्रीहरुले पनि लामो समय जंगलमै बसेको प्रमाण रहेको पुष्टि हुन्छ । अनुसन्धान टोलीले उनीहरुको साथबाट ४८० ग्राम र ६० ग्राम तौलको दुई थान खाग बरामद गरेको छ । उनीहरुको साथबाट कालो झोला, भरुवा बन्दुक, बिँड भएको बञ्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाइट, कालो झोला, घरमा बनाएको झोला, डेक्ची, पटाका बारुद, ब्ल्यांकेट र दुई थान पल्सर मोटरसाइकल बरामद गरिएको छ ।

उनीहरुले एक किलोमिटरको दुरीमा सात वटा खाल्डा बनाएका थिए । केही पर मचान जस्तो बनाइ बसेको, चाउचाउ, पानी खाएका खोलहरु समेत भेटिएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए ।

सात वटा खाडल खनेर चोरी शिकारी प्रक्रिया पूरा गर्न तस्करहरुले करिब महिना दिन बिताउँदासमेत निकुञ्ज प्रशासनले थाहा नपाउनु कमजोरी भएको महानिर्देशक ढुङ्गानाले स्वीकार गरे । उनले निकुञ्जका सुरक्षामा रहेका कर्मचारी बिदामा घर गएको मौका छोपी गैंडा तस्करले चोरी शिकारी गरेको बताए ।

उनले निकुञ्जमा कर्मचारी अभाव भएको कारण बिदाको समयमा कर्मचारी व्यवस्थापनमा समस्या हुने गरेको दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!