भारतीयको कुटपिटबाट नेपाली नागरिकको मृत्यु

Posted on: 27 Nov, 2023

मङ्सिर ११, गुलरिया | भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षीय रमेश यादवको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

भारतीय लौकाहीका जलालु खान र उनको छोरा अतहर खानलगायत १० जनाले यादवलाई निर्घात कुटपिट गरेको मृतकको आफन्तले जनाएका छन्।

लौकाहीका भारतीय नागरिक नेपाल गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँमै पसेर कुटपिट गरेको स्थानीयको भनाई छ।

भारतीयले गत कार्तिक २३ गते नेपाली युवकलाई कुटपिट गरेका थिए। घाइते भएका यादवको लखनउमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्।

अतहर खान भारतीय लौकाहीका डाक्टर हुन्। नेपाल भारत सीमावर्ती लौकाही नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँको समुन्ने दशगजामा डा अतहरको औषधी पसल छ। कार्तिक तेस्रो साता गुलरिया नगरपालिका–११ मृतककी दिदी बृजमा यादवले घर नजिकै डा अतहर खानको पसलबाट औषधी ल्याएकी थिइन्। ल्याएको औषधीले निको नभई रियक्शन गरेपछि बृजमाले गुनासो गरेपछि भारतीय डा.अतहर खान हातपातमा उत्रेका थिए। आफ्नी दिदीमाथि हातपात गर्दा मृतक रमेश यादव बोलेका थिए। त्यस दिन सामान्य विवादपछि झगडा शान्त भएको थियो।

दुई तीन दिनपछि कार्तिक २३ गते मृतकका भतिज ओमकार यादव दीपावलीको लागि लौकाही बजार सामान किन्न गएका थिए। त्यही मौकामा डा.अतहर खानले १६ वर्षीय ओमकार यादवलाई नियन्त्रणमा लिएका थिए। डा.अतहरले ‘मलाई नियन्त्रणमा लिई तेरो अंकललाई छिटो बोला’ भनेर ज्यान मार्ने धम्की दिएको ओमकार यादवले बताए। ‘डा. अतहरले ज्यान मार्ने धम्की दिएपछि अंकललाई फोनमार्फत जानकारी गराए’ उनले भने, ‘अंकलले डा. अतहरको बुवा जलालुसंग भने ‘मेरो भतिजलाई छोड्दिनुस्।’

त्यही विषयमा विवाद हुँदा लौकाहीबाट अतहरलगायत अन्य व्यक्तिहरू आएर डाडालालपुर गाउँ नेपालमै पसेर कुटपिट गरेको ओमकारले जनाए। कुटपिटमा दाजु रमेश यादव र भाइ मनोज यादव गम्भीर घाइते भएका मृतककी बहिनी गिता यादवले बताइन्। घाइते दाइको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। त्यसपछि थप उपचारको लागि भारतको लखनउ पुर्‍याएको उनले जनाइन्।

मृतकका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेको जनाएका छन्। यस घटनाको अपुष्ट रुपमा खबर आएको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए। यस घटनाको बारेमा बुझ्दै छु’ प्रहरी उपरीक्षक शाहीले भने, ‘बुझेपछि जानकारी गराउँछु।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!