नर्सलाई बेलायत पठाउने तयारी सुरु

Posted on: 04 Jul, 2023

असार १९, काठमाडौँ | सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ ।  नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबिच भएको सम्झौता अनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी गरेको जनाएको छ । 

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दुई देशबिच यसअघि भएको सम्झौता अनुसार नेपाली नर्स बेलायतमा पठाउने इम्प्लिमेन्टेसन प्रोटोकल पारित भएसँगै बेलायत पठाउने गृहकार्य थालिएको जानकारी दिए । उनका अनुसार प्र्रोटोकलले तोके अनुसार साउनको १० गतेभित्र बेलायतमा एक सय जना नर्स पठाउने गरी अनलाइनमार्फत आवेदन माग गरिने छ । 

आकर्षक तलब र सुविधा रहेको प्रोटोकलमा बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ भने आइइएलटिएसमा न्यूनतम सात अङ्क अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त तोकिएको छ । त्यसै गरी दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि प्रोटोकलमा अनिवार्य गरिएको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!