बैशाख २, काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बधाई दिएका छन्।
एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले सामाजिक सञ्जालमा एक्समार्फत बधाई दिएका हुन् । गिब्सले सन् २००७ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।उनले क्रिकेट कमेन्टेटर एन्ड्रियु लियोनार्दले पोस्ट गरेको भिडियोमा ‘वेलकम योङ म्यान’ भनेर लेखेका हुन्।
शनिवार कतारविरुद्ध दीपेन्द्रले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौं खेलाडी हुन् । दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडी यस प्रकार छन् ।
हर्सल गिब्स
दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।
उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
युवराज सिंह
भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
काइरन पोलार्ड
वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।
जसकरण मलहोत्रा
अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!