युरोप लगाएत विभिन्न देश पठाइदिन्छु भनी लाखौं ठगी गर्ने ३ जना पक्राउ

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौँ कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङ्घर्ष राई रहेका छन् । 

पक्राउमध्ये पवनले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रुपैयाँ ठगी गरेको, नमराजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र सङ्घर्षले युरोपका देशहरू पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौँ सम्भूमार्गबाट, नमराजलाई काठमाडौँ नयाँ बानेश्वरबाट र सङ्घर्षलाई काठमाडौँ बालाजुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


   

यस बिषयमा तपाइको प्रतिक्रिया...!