काठमाडौँ महानगरमा कुष्ठरोगका ११० जना बिरामी फेला

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् ।

महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिए । कुष्ठरोग समयमै पहिचान गर्न सके औषधि सेवनबाट निको हुने उनको भनाइ छ ।

संस्थाले बिहीबार काठमाडौँ महानगरपालिका–२६ मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भने ।

एनएलआरले हालसम्म कामपा–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आगामी दिनमा वडा नं ६, ७, ८, ९ र १७ वडामा उक्त कार्यक्रम सञ्चालन गरिने सिंहले बताए।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापितले आव २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका जानकारी दिए। उनका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा नौ सय ४४ रहेका छन् ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य कुष्ठरोगको बारेमा जनचेतना जगाउने र समुदायमा रहेको भ्रम हटाइ सामाजिक लाञ्न्छनाको गलत धारणा परिवर्तन गर्नु रहेको मुख्य प्रशिक्षक गोपाहरि पोखरेलले बताए  ।

एनएलआरले पहिलो चरणमा काठमाडौँका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!