टोली पराजित हुँदा पनि गुलशनले पाए अवार्ड

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध समेत नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

नेपाली टोली पराजित हुँदा अलराउण्डर गुल्सन झा ‘प्लेयर अफ द म्याच अवार्ड’ हात पार्न सफल भए । नेपाल एक विकेटले पराजित हुँदा उनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । यस्तै, पाँच विकेट हात पार्न सफल भएका थिए ।

पहिला ब्याटिङ गरेको नेपालले २२१ रनको मध्यम लक्ष्य दिएको थियो । ओमानले एक बल बाँकी हुँदा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दा नेपाल पराजित भएको हो ।


ओमानलाई अन्तिम ६ बलमा जितका लागि ८ रन चाहिएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दा दोस्रो बलमा सकिल अहमदको ब्याटबाट चौका गएको थियो ।

तेस्रो बल डट राखे पनि, चौथो बलमा एक रन बटुल्दा अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । सोमपालको पाँचौ बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमाञ्चक जित दिलाएका थिए ।

नेपालका लागि गुल्सनले पाँच विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० बनाउँदा कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र चार छक्कासहित सर्वाधिक ६० रनको महत्त्वपूर्ण इनिङ खेले ।

तल्लो क्रममा गुल्सन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले । अरू खेलाडीले राम्रो अंकमा रन बटुल्न सकेनन् ।

आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पराजित भएको हो । नेपालले अब आइतबार पुनः क्यानडा तथा मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!