यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

Posted on: 30 May, 2022

जेठ १६, काठमाडौं | सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताए ।

उनले मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक पाँच हजार उपलब्ध गराउने घोषणा गरे ।

बजेटमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत कर छुट दिएको छ । देशमै सेनेटरी प्याडका कच्चा पदार्थका लागि १ प्रतिशत मात्रै कर लाग्ने बजेटमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटमा छ ।

यस्तै सरकारले दुर्गम क्षेत्रमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने तथा भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने भएको छ । उक्त केन्द्रलाई अङ्ग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानका रूपमा विकास गरि ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!