वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार

Posted on: 28 Mar, 2022

चैत १४, काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।

अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ। कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा शुरु भएको बताए।

उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए।

कार्यकारी निर्देशक बस्नेतले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्र्युनिटी पाएका छौँ। त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो। यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ। त्योभन्दा पनि हामी विस्तारै अब बोनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ। हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरूको उपचार गर्ने र बोनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ।’

त्यस्तै, रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. नीरजकुमार सिंहले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए।

उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए।

विशेषज्ञ सिंहले अस्पतालको अबको लक्ष्य बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!