चैतमा मेलम्चीको पानी आउने

Posted on: 11 Mar, 2022

फागुन २७, काठमाडौँ । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु–याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ । गत असार १ गतेको मेलम्ची खोलाको बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किएका थिए ।

प्रवक्ता पन्तले भने, “हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम–अन्तिम भएको छ, पानी पथान्तरणको वैकल्पिक माध्यमबाट चैतमा पानी ल्याउने योजनाका साथ काम भएको छ, चैतमा पानी ल्याउन सक्छौँ भन्ने नै छ ।”सुरुङको गेग्य्रान हटाउने काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिएका छन् । उनका अनुसार बाढीले ल्याएका ठूला ढुङ्गाहरू नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्ने काम भइरहेको छ । उनले भने, “अझै एक साता ब्लास्टिङ गर्न लाग्छ, गेग्य्रान पन्छाउने काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब एक सातामा गेग्य्रान हटाउने काम सम्पन्न हुन्छ ।” 

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!