सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

Posted on: 10 Mar, 2022

फागुन २६, काठमाडौँ । अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।

बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्तत: ८ र्माचमा उनको मृत्यु भएको बताएका छन् । बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया 'अँध्यारोमा निशाना लगाउनु'जस्तै भएको बताइएको छ । बेन्नेट बाँच्ने सम्भावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुँगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो । मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो । ७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो । डाक्टरहरूले केही सातापछि उनले परिवारसँग दिन बिताएको, सुपर बाउल हेरेको र घरमा गएर आफ्नो कुकुर 'लकी'सँग भेट्ने इच्छा व्यक्त गरेको बताएका छन् । उनको मुट प्रत्यारोपण गरेका डाक्टर बार्टली ग्रिफिथले उनी साहसी र असल बिरामी भएको तथा उनले अन्तिम समयसम्म बाँच्न संघर्ष गरेको बताएका छन् ।

समाचार एजेन्सी एपीकाअनुसार उनको छोरा डेबिड जुनियरले आफूले आफ्नो पिताका प्रत्यारोपणलाई आशाको अन्त्यको रूपमा नभई सुरुआतको रूपमा लिएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!