रोकिएका सहित थप २३६ नेपाली युवा यहि फागुन २३ बाट कोरिया जान पाउने

Posted on: 28 Feb, 2022

फागुन १६, काठमाडौँ । कोरोना कहरले गर्दा  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन् ।

कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ । १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । कोरिया प्रवेशअघि क्वारेन्टाइन बसे नबसेको, स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा एचआरडी कोरिया ईपीएस सेन्टर नेपाल र शाखा कार्यालयबाट अनुगमन गरिने भएको छ ।

कोरिया प्रवेश गर्ने युवाले कोभिड–१९ खोप कार्ड वा क्यूआर कोड प्रमाणपत्रको प्रतिलिपि र दक्षिण कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख बीस हजार कोरियन वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात् १ लाख १९ हजार रुपैयाँ पनि आवश्यक पर्ने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट अनिवार्य रूपमा डेबिट कार्ड लिनु पर्नेछ । कोरियामा क्वारेन्टाइनमा चेकइन गर्ने बेलामा नै कार्डबाट भुक्तानी गर्नुपर्ने भएकाले कार्ड सञ्चालन भए नभएको नेपालमै यकिन गरेर जानसमेत अनुरोध गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!