भारतमा कोरोनाबाट थप ४८८ को मृत्यु

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | भारतमा कोरोना भाइरसबाट एकै दिन थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्।

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन्। सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ।

यो सँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!