आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै, यस्तो छ स्वास्थ्य मापदण्ड

Posted on: 01 Jul, 2021

असार १७, काठमाडौं । नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ ।​

मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेका छ । 

प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।

प्राधिकरणको उडान अनुमती शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ ।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।

स्विकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्‍ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् ।

त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । सुर्खेत, नेपालगन्‍ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति बिहीबार टुंगो लाग्ने भनिएको छ ।

यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ ।

एक निजी वायुसेवाका अधिकारीका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइने भनिएको छ ।

त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार, यात्रुको भीड कम गर्ने उद्देश्यले काठमाडौं बाहिरका विमानस्थलमा पनि एकैपटक दुई वा बढी वायुसेवालाई जान दिइने छैन । 

विमानस्थलको र्‍यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्ने छ तर जहाजमा भने वायुसेवालाई सबै सिटमा यात्रु राखेर उडान अनुमति दिइएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!