नेपाली फिल्ममा डेब्यु गर्दै बलिउड अभिनेत्री सुफिया सिद्दीकी

Posted on: 14 Sep, 2022

भदौ २९, काठमाडौँ । बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् । ‘सायरा’ मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो । कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको सुफिया सिद्दीकी फाइनल भएको जानकारी दिइयो । 


सिद्दीकी इरानकी मुलकी बासिन्दा हुन् । भारतमै हुर्केकी उनी मुम्बई बस्छिन् । सिद्दीकी अहिले बलिउडमा छिन् । भारतबाट एक अन्तर्राष्ट्रिय मोडेलको रुपमा समेत चिनिएकी उनले अन्तर्राष्ट्रिय फेसन सप्ताह लास भेगासको ब्रान्ड एम्बेसडर हालै जितेकी थिइन् । 

‘सायरा’ फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देश देखाइएको थियो ।‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी थिइन् ।

सिद्दीकीले थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता समेत जितेकी छिन्। नेपाली फिल्म अभिनयबाट पनि उनले दर्शकको मन जित्ने विश्वास रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!