सरकारी वकिलसमक्ष पलको बयान- "गुडनाइट भन्न ढोकासम्म पुगेको मात्र हो जबर्जस्ती गरेको होइन"

Posted on: 13 Mar, 2022

फागुन २९, काठमाडौँ । प्रहरी हिराशतमा रहेका एक १७ वर्षीया किशोरी गायिका बलात्कारका अभियुक्त पल शाहविरुद्धको अनुसन्धान जारी छ ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको थियो । 

एक १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो ।

उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् । कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।”

होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ । प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!