रेखा थापाको फिल्म 'उपहार' को ट्रेलर सार्वजनिक (भिडिओ)

Posted on: 16 Feb, 2024

फागुन ४, काठमाडौँ | रेखा थापा अभिनीत तथा निर्मित फिल्म 'उपहार' को ट्रेलर सार्वजनिक गरिएको छ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ। ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको अभिनय छ। अभिनेत्री थापाका श्रीमान बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। 

यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!