‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको विषयमा सहमति

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र वितरकको संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउनेछन् । यसले नेपाली निर्मातालाई ठूलो राहत हुने देखिएको छ ।

यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर, तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे । जसले गर्दा राम्रो व्यापार गर्ने फिल्मका निर्मातालाई ठूलो मार पर्ने गरेको थियो । ‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए ।


यसपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । तीन दिन लामो छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो । सेयर बाँडफाँडको विषयमा सहमति जुटेसँगै अब ‘दिमाग खराब’को प्रदर्शन यथावत् रहने भएको छ । अहिले यो फिल्मले राम्रो कमाई गरिरहेको छ ।

सेयर बाँडफाँडसँगै हलमा ट्रेलर तथा पोस्टर आदि प्रचार सामाग्रीको प्रयोगको विषयमा पनि चलचित्र संघ र निर्माता संघबीच विशेष सहमति भएको जनाइएको छ । दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँड, हलमा ट्रेलरको प्रयोग आदि विषयमा लामो समयदेखि रस्साकस्सी चल्दै आएको थियो । अब त्यसको अन्त्य भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!