तनावमा थिइन् मोडल दिपाशा, विष सेवन गरेर आत्महत्या

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत घोषित गरेका हुन् ।


सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।

त्यसो त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो । बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो । दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।

दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!