अनमोलकी आमा सुस्मिताको दावी– सुदर्शन थापाले मदिरा पिएर जथाभावि बोलेपछि कुरा बिग्रियो

Posted on: 05 Oct, 2023

असोज १८, काठमाडौँ | नायक अनमोल केसी ‘विश्वासघात’ को आरोपमा पक्राउ परेर दुई दिनपछि रिहा भए । उनले पक्राउ पर्नुअघि र पछि यो विषयमा कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

अनमोल पक्राउ पर्दा उनका बुवा तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने युरोपमा थिए । एउटा कार्यक्रमका लागि ‘पत्नी’ जिया केसीसँग जर्मनीमा पुगेका भुवन तत्काल फर्किन सकेनन् । अनमोल घरमा एक्लै बसिरहेका थिए ।

अनमोलकी आमा सुस्मिता बम्जन् भने दार्जिलिङमा बस्दै आएकी छन् । भुवन र सुस्मिता धेरै अघि अलग भएका हुन् । आपसमा अलग भए पनि उनीहरु दुवै छोरालाई उत्तिकै माया गर्छन् । अनमोलको पनि बुवा र आमा दुवैसँग न्यानो सम्वन्ध छ । यति मात्र होइन, ‘कान्छीआमा’ जिया केसीसँग पनि उनी उस्तै मिल्छन् ।


यस प्रकरणमा निर्देशक शुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले अनमोलबाट धोका पाएको दावी गरिरहेका छन् । उनीहरुको भनाइ अनुसार अनमोलले १० लाख रुपैयाँ एड्भान्स लिएपछि फिल्म नखेल्ने भनेर धाका दिए । यस विषयमा अनमोलको प्रतिक्रिया नआइरहँदा उनकी आमा सुस्मिता केसीले मुख खोलेकी छन् । एक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले अनमोलको बचाउ गर्दै अहिलेको परिस्थितिमा सुदर्शन थापाकै कमजोरी औंल्याएकी छन् ।

सुस्मिताको भनाइ यस्तो छ :

मेरो छोरो साँच्चिकै सोझो छ । कसैलाई नो भन्न सक्दैन । कसैलाई नराम्रो भन्न सक्दैन । कसैको मन दुखाउँदैन । हुन्न गर्दिन भन्न सक्दैन । हुन्छ नि दाइ हेरौंला नि भन्छ । त्यसलाई मान्छेले अर्कै हिसाबले लिन्छन् । कति ठाउँमा सोझो पनि राम्रो होइन भन्ने सम्भवतः अनमोलले सिक्यो होला ।

मलाई अघिल्लो दिन नै च्याटमा उसले सुदर्शन थापाको कुरा सुनाएको थियो । मसित अनमोल र मेरो म्यासेजको स्क्रिनसट पनि छ । एक त सुदर्शन थापा अल्कोहोलिक हो भन्ने सबैलाई थाहा छ नि । तर फिल्मको स्क्रिप्ट सुनाउँदा त रक्सी खाएर कोही पनि आउँदैन । अनमोलले जेन्टलम्यान भएर दाइ अँ यताउति भनेर कुरा गर्यो । स्क्रिप्ट उनीहरुको कम्प्लिट भएको थिएन ।

अनमोलले १० लाख रुपैयाँ मागेको होइन । उनीहरुले जबर्जस्ति थमाएको हो । एउटा गल्ति के भयो भने चेक लिनै नहुने थियो, उसले लिइदियो । त्यो मिस्टेक चाहीँ मान्छु । तर कहिलेकाहीँ जबरजस्ति गरेपछि नो पनि भन्न नमिल्ने अवस्था हुन्छ ।

अहिले उनीहरुको सुटिङ गर्ने कुरा नै थिएन । ‘फर्कीफर्की’ र ‘जेर’ पछि मात्र ‘रावायण’ गर्ने कुरा भएको थियो । उसको बाउ (भुवन केसी) को बर्थडेमा सुदर्शन थापा पूरै झ्याप भएर ‘नकआउट’ रहेछ । अनमोलले फस्र्ट टाइम उसलाई त्यस्तो अवस्थामा देखेको । अनमोल त माछामासु, जाँडरक्सी केही पनि खाँदैन । अहिले चैं बल्लबल्ल फिजिकल ट्रेनरले बि १२ कम हुन्छ भनेपछि माछा खान थालेको छ । उसलाई जाँड–रक्सी खाने मान्छे मनै पर्दैन । सुदर्शन थापाले रक्सी खाएर जे पायो त्यही बोल्न थालेपछि उप्रति अनमोलको इम्प्रेसन बिग्रियो ।

दुई दिनपछि अनमोलले मलाई फोन गर्यो । त्यो दाइ रक्सी नखाँदा अर्कै मान्छे र रक्सी खाएपछि अर्कै मान्छे हुनुहुँदो रहेछ । मलाई त अर्को छड्के ३ बनाउने हो कि भन्ने डर लाग्यो मामु भन्यो । स्क्रिप्ट पनि अधकल्चो छ, मैले साइन पनि गरेको छैन के गर्ने भनेर सोध्यो । मैले स्क्रिप्ट सुनाउ त भनेँ । अनमोलले सुनाए अनुसार चलचित्रमा उसको दुईवटा भूमिका छ जसमा एउटा पाइलटको भूमिका छ । मैले आधा सुनेपछि स्क्रिप्ट चित्त बुझेन भनेँ । साइन गरेको छैन, खुरुक्क चेक फिर्ता गर्देउन भनेर सिकाएँ ।

मैले बुवालाई चेक दिएर पठाउन त भन्दा बुवा यूरोप जानुभयो भन्यो । त्यसपछि मैले अर्को कोही विश्वासिलो मान्छेलाई दिएर पठाउ भने । उसले हुन्छ पनि भन्यो ।

बुवा हुनुहुन्न भनेपछि उसलाई खाना कसले पकाउँछ भनेर सोधेँ । उसले घरमा काम गर्ने छैन, बाहिरबाट मगाएर खान्छु भन्यो । त्यसो भए तिमी यतै दार्जिलिङ आउन त केही दिनलाई भन्दा उसले घरमा कोको (कुकुर)छ उसलाई हेर्नुपर्छ भन्यो । अनि म आफैं आउँछु अनि कोकोलाई पनि लिएर आउँला, काँकडभिट्टामा गाडी छोडेर दार्जिलिङ आउँला भन्दा उसले एक्वेरियममा माछालाई खुवाउनुपर्छ, फुलमा पानी हाल्नुपर्छ भन्यो । म यहाँ सेफ छु भनेपछि मैले पनि ठिकै छ भनेर छोडिदिएँ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!