फिल्म बनाउँदै ‘बले’

Posted on: 29 Jun, 2023

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ का ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए । 

‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई टेलिभिजनले ‘बले’ नामले चिनायो । उनी ‘भद्रगोल’ र ‘सक्किगो नि’ सिरियलबाट दर्शकमाझ चिनिए । ‘लोफर’पछि ‘लज्जा’ र ‘हैरान’ फिल्म गरे तर उनको प्रसिद्धि भने टेलिशृंखलाबाटै भयो । फिल्म र टिभीबाहेक उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् ।


अब भने बले फिल्म निर्माणमा कस्सिएका छन् । होम प्रोडक्सन बले इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बनाउने उनको तयारी छ । अहिले स्क्रिप्ट लेखन धमाधम चलिरहेको फिल्म कृषिसम्बन्धी कथावस्तुमा बनाउने उनको योजना छ । फिल्ममा तीन शीर्ष कलाकार तय छन् । जसमध्ये एक भूमिकामा बले स्वयं देखिनेछन् । निर्देशक, कलाकार र शीर्षकबारे उनले खुलाएका छैनन् ।

‘बाँकी सबै चाँडै सार्वजनिक गर्छौं,’ उनले भने । २०८१ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्मलाई आगामी चैत वा वैशाखदेखि छायांकन गर्ने उनको योजना छ । कृषिसम्बन्धी कथावस्तुमा बन्ने फिल्ममा बलेले किसानको भूमिका निर्वाह गर्दैछन् । ‘देशमै घटिरहेको घटनाबारे फिल्म बन्छ । हामीले कृषिकै समस्यालाई प्रस्तुत गर्दैछौं,’ उनले भने ।

‘जे होस् फिल्म हेर्दा दर्शकलाई मज्जा आउँछ,’ उनी भन्छन्, ‘मुलुकको कृषि र कृषकसम्बन्धी समस्यालाई यसले सम्बोधन गर्नेछ ।’ अहिले आफूसहित पाँच जना मिलेर फिल्म लेखनको काम चलिरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!