‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने नेपाली वितरकको निर्णय

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडाैं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ ।

‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए।


‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। उहाँको मार्गदर्शनलाई पछ्याउँदै आज धरान र पोखरामा पनि चलचित्र निषेध गरियो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो,’ उनले भने।

उनले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने प्रतिक्रिया दिए।

तपाईँहरू त झन् वितरक। चलचित्र रोकिँदा पक्कै घाटा भयो होला ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘घाटा त अवश्य हुन्छ नै। व्यापार हो। कहिल्यै घाटा कहिल्यै नाफा हुनु स्वभाविक हो। बालेनजीले देशको सेन्टिमेन्टलाई मध्यनजर गरेर यो निर्णय लिनुभएको छ। हामी यसलाई सहर्ष स्विकार्छौ। सीता भारतकी छोरी हुन भन्ने विषयलाई त हामी पनि विरोध नै गर्छौ।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए।

उनको निर्देशनपछि आज हल व्यवसायीहरू काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!