चौतर्फी विरोधपछि आदिपुरुषका लेखक मनोजले भावुक हुँदै भने- केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ

Posted on: 18 Jun, 2023

एजेन्सी |  ‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।

सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भनाइ छ ।

नेपालमा पनि सीतालाई ‘भारतकी बेटी’ भनेकोमा सर्वत्र विरोध भइरहेको छ । जनताको असन्तुष्टिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको मनोज मुंतासिरले बताएका छन् । 

उनले ट्विट गर्दै लेखेका छन्, ‘राम कथाबाट सिक्ने पहिलो पाठ हरेक भावनाको सम्मान गर्नु हो । सही होस् वा गलत, समय परिवर्तन हुन्छ, तर भावना रहिरन्छ । आदिपुरुषमा ४ हजारभन्दा बढी पङ्क्तिको  संवाद मैले लेखेँ, ५ पङ्क्तिमा केही भावनामा चोट पुगेको छ । म आफ्नो संवादको पक्षमा अनगिन्ती तर्क दिन सक्छु, तर यसले तपाईंको पीडा कम गर्दैन । मैले र फिल्मका निर्माता–निर्देशकले तपाईंलाई आहात पुर्‍याइरहेका केही संवादलाई परिमार्जन गर्ने निर्णय गरेका छौँ । र यसै हप्तादेखि यसलाई फिल्ममा समावेश गरिनेछ । श्री रामले तपाईंहरु सबैको कल्याण गरुन् ।’

शुक्रवार रिलिज भएको आदिपुरुषले पहिलो दिन ग्लोबल बक्स अफिसमा १४० करोड कमाएको छ । यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!