‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन पारिजात स्मृति केन्द्रको माग

Posted on: 24 Apr, 2023

वैशाख ११, काठमाडौँ । गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभएको उल्लेख गरिएको छ ।

महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ ।

गीत निर्माण गर्दा केन्द्रसँग अनुमति नलिइएको र प्रतिलिपि अधिकारको उल्लंघन भएको समेत उल्लेख छ । साथै केन्द्र सर्जकको स्वतन्त्रताप्रति संवेदनशील रहेको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि उल्लेख छ । यसप्रति क्षमायाचना गर्न र दृश्यलाई सच्याउन समेत केन्द्रले माग गरेको छ ।

गीतले उपन्यासमाथि अन्याय गरेको र सपूतले क्षमायाचना गर्दै ‘शिरिषको फूल’सँग जोडिएका दृश्यहरु हटाउन माग गरिएको छ । दश दिनअघि सार्वजनिक सपूतको गीत ‘सकम्बरी’लाई अहिलेसम्म युट्युबमा १४ मिलियनले हेरेका छन् । गीत सार्वजनिक भएपछि महिलालाई वस्तुकरण गरिएको भन्दै उनको आलोचनासमेत भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!