मलेसिया रोजगार: कम्तिमा १५ सय तलब र ओभरटाइम स्पष्ट नभएको मागपत्र प्रमाणीकरण नगर्न निर्देशन

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौँ । मलेसिया भ्रमणको क्रममा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मलेसियामा सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका छन् ।

मलेसियास्थित एक कार्यक्रममा बोल्दै दूतावासका कर्मचारीहरुलाई मन्त्री श्रेष्ठले आइतबार उक्त निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा दैनिक १२ घण्टा खटिने सुरक्षा गार्डको तलब मासिक १५ सय रिंगेट न्यून भएको जानकारी दिए । मन्त्री श्रेष्ठले यसअघिनै दुतावास मार्फत प्रमाणीकरण भएको डिमाण्डमा समेत छुट्टै निर्णय गर्ने बताए । मलेसिया भ्रमणको क्रममा मलेसिया पुगेका मन्त्री श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव मलेसियाका गृहमन्त्रीसँग पनि राखेको बताए । उनले भने, ‘न्यूनतम तलब ५४६ रिंगेट हुँदा नै सुरक्षागार्डले ओभरटाइम समेत गरेर १०/१५ वर्ष अगाडि नै १५ सय रिंगेट तलब थापेको हो, अहिलेसम्म पनि त्यत्ति नै ।’

मन्त्री श्रेष्ठले मलेसियामा १२ घण्टा ड्युटीमा खटिँदा हुने हर्टअट्याक जस्ता जोखिमलाई ध्यानमा राखेर चौबिस घण्टे बीमा सुविधाको व्यवस्था हुनुपर्ने ध्यानाकर्षण मलेसियाका गृहमन्त्रीलाई गराएको जानकारी दिए । 

मन्त्री श्रेष्ठका अनुसार नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!