दुई बर्षपछि खुलेको मलेसिया रोजगारको पहिलो लट नम्वर '२५८८१६'

Posted on: 15 Mar, 2022

अनिल अधिकारी । चैत १, काठमाडौँ । कोरोना महामारीको कारण २०२० मार्चदेखि बन्द मलेसिया रोजगार औपचारिक रुपमै खुलेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले साझा सवाल मिडियालाई दिएको जानकारी अनुसार मंगलबार पहिलो पटक मलेसियाको रोजगारदाताको मागपत्रलाई नयाँ विज्ञापन पुर्व स्वीकृति नम्बर 'लट नम्वर' प्रदान गरिएको छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुसार मलेसिया खुलेपछिको पहिलो बिज्ञापन पुर्व स्वीकृति नम्बर (LT) २५८८१६ जारी भई बिभागको वेबसाइटमा सार्वजनिक भएको छ । 

दुई बर्षदेखि रोकिएको मलेसियाको पहिलो विज्ञापन पुर्व-स्वीकृति मलेसियाको WWTC CONSTRUCTION SDN BHD को लागि २५ जना कन्स्ट्रक्सन वर्कर पदमा स्वीकृति भएको छ । यो डिमाण्ड काठमाडौँको चन्द्र कामना म्यानपावर प्रालिमा आएको छ । यो मागपत्र मलेसिया स्थित नेपाली दुतावासले २३ फेव्रुअरीमै प्रमाणीकरण गरेको हो । 

त्यस्तै ताहाचलस्थित कार्यालयले मलेसियाका थप ४३ कम्पनीको डिमाण्डको पनि बिज्ञापन पुर्व स्वीकृति दिने क्रममा रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार आज मंगलबार मात्र ३० कम्पनीको निवेदन दुतावासबाट प्रमाणीकरण भई बिज्ञापन पुर्व स्वीकृतिको लागि आएको छ । मंगलबार आएको ६० विदेशी कम्पनीको पुर्व-स्वीकृति निवेदन मध्ये आधा मलेसिया रोजगारको लागि रहेको छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक तथा सूचना अधिकारी हरिराम नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकोले अब दुतावासले प्रमाणित गरेको डिमाण्डको निवेदनले धमाधम बिज्ञापन पुर्वस्वीकृति पाउनेछ । 


मलेसिया रोजगारको लागि विशेषगरी कन्स्ट्रक्सन वर्कर, सेक्युरिटी गार्ड र म्यनिफ्याक्चरीङ अन्तर्गत कामदारहरुको माग आउने गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा नेपालीलाई रोजगार गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!