युएईका नेपाली श्रमिकको पारिश्रमिक वृद्धि गर्न नेपाल र युएईबीच संयुक्त कार्य समितिको बैठक बस्दै

Posted on: 09 Feb, 2022

माघ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा सरोकारवालासँग गरेको छलफलमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए। 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाको सहयोगको अपेक्षा गरिएको बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेलाई सरकारले हदैसम्मको कारवाही गर्ने मन्त्री श्रेष्ठले चेतावनी दिए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पुर्‍याउनुपर्ने उनको भनाइ छ।  

नेपालले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बिमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्युनतम पारिश्रमिक वृद्धि लगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताए।  

युएईमा रहेका नेपाली श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने बिषयलाई नेपालले प्राथमिकता दिनुपर्ने सरोकारवालाले औंल्याएका थिए। नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ। 

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाँदैछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!