रोजगार गन्तव्य देशमा नेपाल प्रहरी कन्सुलर सेवा !

Posted on: 28 Dec, 2021

पुस १३, काठमाडौँ | नेपाल प्रहरीले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए ।

ती देशमा रहेका नेपालीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी सहचारी राख्ने बताइए पनि मुलतः आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने प्रमुख उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको बताइएको छ । 

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी कार्यरत रहेका छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरवन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसिया बाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस,  बंगलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरिएको प्रवक्ता कुँवरको भनाइ छ ।

पछिल्ला दिनमा मानव तस्करीमा रहेकाहरू यूएईलगायतका देशमा लुकिछिपी बस्ने गरेका छन् । नेपालमा लामो समय जेल सजाय र ठूलो परिमाणमा हुनसक्ने जरिवानाबाट बच्न खाडीका विभित्र मुलुकमा बसेका गिरोहलाई प्रहरी सहचारी स्थापना भएमा पक्राउ गर्न सजिलो हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!