रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ

Posted on: 25 Dec, 2021

पुस १०, काठमाडौँ | रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ भएको छ । स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवालाई स्वास्थ्य बीमाको दायरामा ल्याउन दुई महिनाअघि तयारी गरेपनि त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउने कार्यविधि २०७८ लागू गर्दै त्यस्ता परिवारलाई गत मंसिर महिनाको शुरूवातदेखि नै स्वास्थ्य बीमाको दायरामा ल्याउने गृहकार्य गरिरहेको बताएको छ ।

हाल वैदेशिक रोगारीमा जाने कामदारहरूले उमेर अनुसार १८ देखि ६४ वर्षको म्यादी बीमा गराउँदै आएका छन् । स्वास्थ्य बीमा ऐन अनुसार नै बोर्डले कार्यविधि तयार पारेको हो । वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध हुन तीन हजार पाँच रूपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

हाल काठमाडौं बाहेक मुलुकका सबै जिल्लामा परिवार स्वास्थ्य बीमा लागू भएको छ । काठमाडौं जिल्लामा पनि स्वास्थ्य बीमा शुरू गर्ने बोर्डले जनाएको छ । तर यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तयारी पूरा नगरेका कारणले स्वास्थ्य बीमा लागू हुन नसकेको बोर्डका निर्देशक दामोदर बसौलाले बताए । विभाग श्रोतले नयाँ विषय भएकाले छलफल भइरहेको बतायो । 

म्यादी बीमा गरी वैदेशिक रोजगारमा गएका कामदारको बीमा अवधिभित्र बीमितको मृत्यु भएमा दश लाख, दुर्घटनाको कारणबाट पूर्ण वा स्थायी अगंभगं भएमा घटना भएको १८० दिनभित्र दुर्घटनाबाट लागेको चोटपटकको औषधोपचार खर्च बापत बीमाकंको १० प्रतिशत नबढ्ने गरी रकम, बीमितको मृत्यु विदेशमा भएको अवस्थामा स्वदेशमा शव परिवहन गरिँदा लागेको ढुवानी खर्च बढीमा एक लाख, किरिया खर्चलगायतका सुविधा वैदेशिक रोजगार बोर्डले दिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!