गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा चारजना नेपालीको मृत्यु भएको पुष्टि

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | गत मंसिरमा ग्रीसको उत्तरपूर्वी सिमाना नजिक भएको मिनिबस दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा मध्यरातमा उनीहरुको गाडी दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । 

ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपाली भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

Photo Credit: Turkish Press 

उक्त दुर्घटनामा चार नेपालीसहित सातजना आप्रवासीहरूको मृत्यु भएको थियो भने दुई नेपाली सहित आठ जना घाइते भएका थिए । 

उक्त घटनामा खटिएका प्रहरीहरुको अनुसार गाडी तीव्र गतिमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनामा परेको थियो । चालक आफै मानव तस्करीमा संलग्न थिए । राजमार्गबाट ​​बाहिर निस्कन खोज्दा उक्त मिनिबस नियन्त्रण बाहिर हुँदा टोल बुथमा ठोक्किएको थियो, त्यसपछि छेउछाउको भण्डारण कन्टेनरमा ठोक्किएर ७ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुके समाचार लेखेका थिए । उक्त सवारीको चालक भने घाइते मात्र भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!