रोजगारीका समस्याहरु मेरै कार्यकालमा समाधान गरिनेछ : मन्त्री श्रेष्ठ

Posted on: 14 Dec, 2021

मंसिर २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सात वटै प्रदेशमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र विस्तार गरिने बताएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पूनर्निर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशिलता अभिवृद्धिका लागि तालिम केन्द्रहरु देशभर विस्तार गर्न लागिएको बताए । 

मन्त्री श्रेषठले भने, ‘उत्पादनशील रोजगारीका अवसरहरू अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने छ ।’

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्रहरु विस्तार गर्नुपर्ने उनको भनाइ छ ।  मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने बताए । 

वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगारबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!