कतार जाने कामदारको टाउको दुखाई बन्दै 'कतार भिसा सेन्टर', सेटिङ र सिन्डिकेटको आशंका !

Posted on: 20 Jun, 2021

अनिल अधिकारी | असार ६, काठमाडौँ | कतार भिसा सेन्टर सिमित म्यानपावर व्यवसायीको प्रभाव र सेटिङमा परेको म्यानपावर व्यवसायीहरुले आरोप लगाएका छन् । कतारको सिमित उडान खुलेसंगै केहि दिन अघिदेखि खुलेको कतार भिसा सेन्टरको गतिबिधिलाई लिएर वैदेशिक रोजगार व्यवसायीहरुले बिभिन्न आरोप लगाएका छन् । त्यसोत कतार भिसा सेन्टरबाट सेवा लिईसकेका तथा लिने क्रममा रहेकाहरुले समेत कतार भिसा सेन्टरको बारेमा गुनाशो गरेका छन् ।  

सिण्डिकेट र सेटिङ

म्यानपावर व्यवसायीहरुले कतार भिसा सेन्टरको पछिल्लो गतिबिधिहरु शंकास्पद भएको भन्दै तत्काल समस्याहरु समाधान गर्नुपर्ने चौतर्फी आवाज उठाएका छन् । व्यवसायीहरुका अनुसार पछिल्लो समय कतार भिसा सेन्टरको अपोइन्टमेन्टको लागि सिस्टम कतिखेर खुल्छ भन्ने कुरा एकिन छैन । सिमित व्यक्ति वा व्यवसायीहरुलाई मात्र  अपोइन्टमेन्टको सिस्टम खुल्ने समय जानकारी दिएर काम गरेको व्यवसायीहरुले दावी गरिरहेका छन् । 

यसै सम्बन्धमा एक व्यवसायीले आफूले नियमित कतार भिसा सेन्टरसँग अपोइन्टमेन्टको लागि सिस्टम चेक गर्ने गरेको तर कतिखेर खुलेर कतिखेर प्याक हुन्छ थाहा पाउन नसकेको गुनाशो गरे । उनले भने 'कतार भिसा सेन्टरले पारदर्शी काम गरेको छैन, सिस्टम खोल्ने निश्चित समयबारे सबै व्यवसायीलाई जानकारी दिएको भए समस्या हुने थिएन । तर कतार भिसा सेन्टरको सिस्टम कतिखेर खुल्छ र कतिखेर बन्द हुन्छ, थाहा नहुने समस्या छ ।' बिबिध प्रकृतीका समस्याको कारण कतार भिसा सेन्टरले सिन्डिकेट गरेको आशंका व्यवसायीहरुको छ । यस सम्बन्धमा कतार भिसा सेन्टरसँग साझा सबाल मिडियाले पटक-पटक जवाफ माग्न खोज्दा सम्बन्धित अधिकारीले फोन उठाएनन् । 


यसै विषयमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अधिकारी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अधिकारी लगाएत व्यवसायीहरुसंग कतार भिसा सेन्टरले गरेको प्रतिबद्धताको २४ घण्टा नबित्दै सिमित व्यवसायीहरुलाई मात्र जानकारी दिएर जुन २३ र २४ को समेत अपोइन्टमेन्ट खुला गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका सचिव कमल काफ्लेले बताए । 

यसै सम्बन्धमा संघका महासचिव सुजित श्रेष्ठले कतार भिसा सेन्टर सम्बन्धि धेरै समस्या र गुनाशो रहेको बताए । उनका अनुसार कतार भिसा सेन्टरले यसअघि कतारमा बिदा हुने भन्दै शुक्रबारको दिन कतार भिसा सेन्टर नखोलेको र अपोइन्टमेन्ट समेत नखोलेको अवस्थामा अहिले सिमित व्यवसायीहरुलाई शुक्रबार समेत कतार भिसा सेन्टरबाट अपोइन्टमेन्ट दिएको बताएका छन् । उनले भने ‘QVC गर्न बकुल्लाले माछा ढुकेजस्तो ढुक्नुपर्ने अवस्था छ, सिमित व्यवसायीले सजिलै अपोइन्टमेन्ट लिन पाईरहेका छन् ।‘ श्रेष्ठका अनुसार अहिलेको अवस्थामा केहिलाई मात्र QVC कहिले खुल्छ थाहा हुने र उनीहरुले मात्र अपोइन्टमेन्ट लिन सक्ने अवस्था रहेको छ । उनले भने ‘कतार भिसा सेन्टर नेपाल सरकारसँगको परिधिमा आएपछि सबै व्यवसायीको साझा संस्था बन्नुपर्नेमा त्यसो नभई सिन्डिकेटको गन्ध आईरहेको छ ।‘ 

अपोइन्टमेन्ट लिने कुरा पारदर्शी र प्रतिष्पर्धी हुनुपर्ने व्यवसायीको माग छ । सिमित व्यक्तिले मात्र QVC लिन पाउने, QVC आएदेखि कतार जाने कामदारले लामो समय QVC कै कारण कुर्नुपर्ने समस्याले वैदेशिक रोजगार प्रक्रियामा कतार भिसा सेन्टर समस्या जस्तो बनेको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीका अनुसार केहिले कतारबाटै सेटिङ गरेर समेत QVC लिएको समेत प्रमाण भएको दावी गरेका छन् । यसरी सेटिङ गरेर QVC लिनेले प्रति अपोइन्टमेन्ट पाँच हजार लिएको बताइएको छ । यस सम्बन्धि प्रमाणहरु कतार स्थित रोजगारदाताले म्यानपावरहरुलाईनै पठाएको व्यवसायीले बताएका छन् । एकै कम्पनीबाट सँगै डिमाण्ड लिएकाहरुलाई समेत एउटा म्यानपावरले QVC अपोइन्टमेन्ट पाउने र अर्कोले नपाउने गरेको कारण रोजगारदाताले QVC नपाएको म्यानपावरलाई डिमाण्डनै नदिने कुरा गर्न थालेको समस्या सुनाएका छन् । डिमाण्ड हत्याउनको लागि पनि QVC प्रयोग भएको व्यवसायीको आशंका छ । 

QVC को अर्को समस्या पनि छ । QVC को अपोइन्टमेन्ट पाउन महिनादिन भन्दा बढीसम्म कुर्नुपर्ने बाध्यता छ ।  भिसा आएपछि QVC को अपोइन्टमेन्ट लिनकै लागि लामो समय कुर्नुपर्दा कतिपयको भिसाको अवधिनै सकिने अवस्था आउँछ ।  जसको कारण QVC झनै झन्झटिलो मानिएको छ । 

QVC को अपोइन्टमेन्ट कतारको मिनिस्ट्री अफ इन्टेरिएरले दिने र अपोइन्टमेन्ट कुन समय खोल्ने भन्ने कुरा एमओईकै हातमा रहेको भनि व्यवसायीहरुलाई गुमराहमा राखेको कतार भिसा सेन्टरले केहिदिन अघि अपोइन्टमेन्ट नै नलिएकाहरुको समेत QVC गरेको संघका महासचिव श्रेष्ठले साझा सबाललाई जानकारी दिए । यसखाले व्यवहारले पनि QVC मा समस्या छ भन्ने लागेको उनले बताए । श्रेष्ठले भने ‘कतार भिसा सेन्टरले आफ्ना निकट वा सेटिङमा काम गरेको शंका व्यवसायीहरुलाई लाग्ने धेरै उदाहरण देखाएको छ ।‘ 

निषेधाज्ञा अघि अपोईन्टमेन्ट लिएकाहरु झन्डै आठ हजार 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव श्रेष्ठका अनुसार निषेधाज्ञा अघि QVC को अपोईन्टमेन्ट लिएकाहरुको संख्या झन्डै ८ हजार छ । उनीहरुलाई कसरि QVC गर्न व्यवस्थापन गर्ने भन्ने समस्या रहेको छ । यस सम्बन्धमा केहिदिन अघि QVC संग व्यवसायीहरुले छलफल समेत गरेका छन् । छलफलमा पहिले नै अपोईन्टमेन्ट लिएर बिबिध कारण QVC गर्न नसकेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता कतार भिसा सेन्टरले जनाएको छ । 

QVC ले व्यवसायीहरुबाट लिस्ट मागेर कतारको एमओआईमा पठाएको जनाएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले प्रत्यक दिन तीनसय जनाको QVC भईरहेको अवस्थामा छुटेकाहरुलाई प्राथमिकता दिन हरेक दिन एक सय जना थप गरि दैनिक चार सय जनाको QVC गर्ने र शुक्रबारको दिन थप चार सय जनाको QVC गर्ने छलफल भएको छ । 

कामदारको हितमा वेवास्ता 


कतार भिसा सेन्टरले कतार जान चाहने कामदारलाई कम आर्थिक भार परोस् भन्ने नचाहेको समेत आरोप लागेको छ । QVC कै लागि कामदारहरु पटक-पटक काठमाडौँ आउनु परेको तथा रिमेडीकल गर्न बाध्य हुने अवस्थामा टाढा-टाढाबाट आएकाहरु काठमाडौँमै १०/१५ दिनसम्म बस्न बाध्य हुनुपरेको अवस्था छ । यसले कामदारलाई आर्थिक भारसंगै झंजट समेत बढेको छ । व्यवसायीहरुले कामदारको हितको लागि QVC ले गर्ने रिमेडीकल आजको भोलीनै हुनुपर्ने माग गरेका छन् । यसो हुँदा रिमेडिकलको नाममा लामो समय कुर्नुपर्ने तथा एकै कामको लागि पटक-पटक धाउनुपर्ने बाध्यता कामदारलाई पर्दैन । 

त्यस्तै कतार भिसा सेन्टरको कामदार माथि हुने अर्को शंकास्पद गतिबिधि, कतिपयलाई मेडिकल गर्ने क्रममा स्वास्थ्य सम्बन्धि समस्या देखाईदिने अनि बाहिर गएर रिपोर्ट ल्याएपछि मात्र फिट देखाईदिने गुनाशो समेत प्राप्त भएको छ । यो गुनाशो QVC गरेपछि कामदारले सुनाएको गुनाशो हो । बिबिध कारण देखाएर कतार भिसा सेन्टरले मेडिकल गर्ने क्रममा समस्या देखाई बाहिरबाट स्वास्थ्य सम्बन्धि चेकअपको रिपोर्ट ल्याएपछि मात्र QVC फिट गराईदिने गरेको गुनाशो छ । जसको कारण पनि QVC गर्न गएकाहरुको आर्थिक भार बढ्ने गरेको बताइएको छ । 

त्यस्तै अर्को समस्या नेपाल सरकारले अनुमति दिएको कतार भिसा सेन्टरको मेडिकल अनलाइन छैन । अनलाइन नहुँदा वैदेशिक रोजगारमा जाने कामदारले दोहोरो मेडिकल गर्नुपर्ने बाध्यता छ । सकेसम्म विदेश जाने कामदारले धेरै आर्थिक भार व्यहोर्नु नपरोस् भन्ने नेपाल सरकारको नीति छ । यस्तो अवस्थामा कतार भिसा सेन्टरलाई सरकारले मान्यता दिएसंगै यसले गर्ने मेडिकललाई अनलाइनमा जोड्नुपर्ने वा QVC गरिसकेकाहरुलाई श्रम गर्ने क्रममा छुट्टै मेडिकल गरेको प्रमाण नचाहिने बनाएको भए कामदारको आर्थिक भार थप घट्ने थियो तर त्यस्तो छैन । अहिले कतार जाने क्रममा दोहोरो मेडिकल गर्नुपर्ने बाध्यता छ । QVC गरिसकेपछि पनि श्रम लिने क्रममा मेडिकल गरेको अनलाइन देखाउनुपर्ने बाध्यताको कारण QVC को अनलाइन सिस्टम बिभागमा नजोडेको कारण कामदारले छुट्टै खर्चमा मेडिकल गर्नुपर्ने बाध्यता छ । 

कतार भिसा सेन्टरको मेडिकल सम्बन्धि अर्को गुनाशो पनि प्राप्त भएको छ । भिसा सेन्टरमा मेडिकल हुन्छ, कतिपय कामदारलाई स्वास्थ्य सम्बन्धि बिभिन्न समस्या देखाएर अर्को मितीमा आउन भनि फर्काइन्छ तर उपचारको लागि यो औषधि सेवन गर्नु भनेर समेत रिफर गरिदैन, जसको कारण भिसा सेन्टरमा गएकाहरु मेडिकल अनफिट भएर फर्किएपछि अन्यौलतामा पर्ने गरेका छन् । कतिपय स्वास्थ्य समस्याहरु औषधिको सेवन नगरी समाधान नहुने हुँदा भिसा सेन्टरबाट मेडिकल अनफिट भई फर्काईएकाहरु अस्पताल वा अन्य मेडिकलमा पुग्न बाध्य हुने गरेका छन् । भिसा सेन्टरले मेडिकल अनफिट भनेर औषधि समेत नलेखि अर्को मितिमा आउनु भन्दै फर्काईएकाहरु अन्यत्र अस्पताल तथा मेडिकल पुगेर स्वास्थ्य जाँच गराउँन बाध्य हुने र त्यसमध्ये केहिले अन्यत्र गएर स्वास्थ्य सम्बन्धि जाँच गराउँदा केहिपनि समस्या नदेखिएको समेत बताएका छन् ।

कतार भिसा सेन्टर नेपालमा खुलेपछि कामदारलाई धेरै सहज हुने आंकलन गरिएको अवस्थामा कामदारलाई रोजगारको प्रक्रियामा लामो समय कुराउनु, भिसाको अवधि सकिन लाग्दा वा सकिएपछि मात्र अपोइन्टमेन्ट पाउनु र कामदारलाई मेडिकल सम्बन्धि समस्यामा अन्यौल बनाउनुले थप झन्झटपूर्ण बन्दै गएको गुनाशोहरु आईरहेको छ । प्राप्त भएको गुनाशो झैं रोजगारदाताले भिसा सेन्टरलाई पैसा तिरीसकेको अवस्थामा समेत सेवाग्राहीलाई भिसा सेन्टरले बाहिरबाट रिपोर्ट ल्याउन लगाउनु, मेडिकल अनफिट भनेर अर्को मितिमा बोलाउने तर सेवन गर्ने औषधि रिफर नगर्नु तथा रिमेडीकल गर्नुपर्ने अवस्थामा १/२ दिन भित्रै मेडिकल नगराई १०/१५ दिनको समयमा बोलाउनुलाई झन्झटिलो मानिएको छ । 

त्यस्तै कतार भिसा सेन्टरले रोजगारदातालेनै पैसा तिरिदिने भएको कारण कामदारले निशुल्क QVC गर्न पाउने विषयलाई कयौं कामदारमाझ पुर्याउन सकेको छैन । यस्तो अवस्थामा केहि एजेन्ट तथा म्यानपावरहरुले QVC गर्न छुट्टै पैसा लाग्ने भन्दै पैसा माग्ने समेत गरेको वैदेशिक रोजगारीको क्रममा कतार जाने क्रममा रहेका युवाहरुले गुनाशो गर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!