वैदेशिक रोजगारीमा रहेका युवाको कथामा आधारित ‘सनैया’ पुस्तक सार्वजनिक

Posted on: 03 Apr, 2021

चैत्र २१, काठमाडौँ । पत्रकार होम कार्कीले लेखेको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको समेटिएको ‘सनैया’पुस्तकको शनिबार विमोचन गरिएको हो।

उराठ चल्ने उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिस छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन्। कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका उनीहरूको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । यिनै नेपाली युवालाई अरबको गर्मीमा पछ्याउँदै पत्रकार होम कार्कीले लेखेको पुस्तक हो ‘सनैया’।


कार्की एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरूको रिपोर्टिङमा संलग्न छन्। त्यस क्रममा चार वर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ। कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए। यो किताब उनले खाडी क्षेत्रमा कार्यरत पाँच सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो।

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीको कथा भन्न सकिन्छ। आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवनगाथा हो यो पुस्तक। देश बनाउन परदेश हिँड्ने श्रमजीवीको कथा हो ‘सनैया’। जसले अरबका चोक–चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेका जीवनको कथा पनि हो, ‘सनैया’। 

किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!