आज फेरी अर्को कन्सल्टेन्सीमा छापा, डिमाण्ड लिन हुण्डी कारोवार (भिडियो सहित)

Posted on: 25 Mar, 2021

अनिल अधिकारी | चैत १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले ललितपुर स्थित एक कन्सल्टेन्सीमा छापा मारेको छ । ललितपुरको कुमारीपाटीस्थित एस स्क्वाएएर करियर एण्ड कन्सलटेन्सीले वैदेशिक रोजगारमा पठाउने भन्दै अवैध काम गरेको सूचनाको आधारमा बिभागले छापा मारेको हो ।


बिभागले छापा मार्ने क्रममा उक्त कन्सलटेन्सीका संचालक सुजन तामाङ कार्यकक्षमै थिए । संचालक तामाङले युरोपका डिमाण्डहरुमा आफूले कामदार भिसामा व्यक्तिगत श्रम स्वीकृति निकालेर पठाउने गरेको बताएका छन् । साथै उनले क्रोएसिया पठाउनको लागे प्रतिव्यक्ति ५/५ लाख लिने गरेको समेत बताएका छन् । तामाङका अनुसार एजेन्टले थप एक लाख लिने गर्छन् । साथै तामाङले युरोपको डिमाण्ड किन्नको लागि विदेशमा पैसा पठाउनको लागि हुण्डीको प्रयोग गर्ने गरेको समेत खुलाएका छन् ।


छापा मार्ने क्रममा उक्त कन्सलटेन्सीमा रोजगारीको लागि जान भन्दै आएका युवाहरु समेत भेटिएका थिए । कन्सल्टेन्सीमा आएकाहरु मध्ये अधिकांशसँग उक्त कन्सलटेन्सीले अग्रिम ५० हजार समेत अशुली गरिसकेको पाइएको छ । कन्सल्टेन्सी संचालकसँग अहिलेसम्म कति जनालाई युरोप पठाउनु भयो ? भन्ने प्रश्नमा ति संचालकले यस अघि युरोप पठाएका युवाहरुको विवरण भने दिन सकेनन् ।

उक्त कन्सल्टेन्सीले गरेको बैदेशिक रोजगार ऐन बिपरित भएपछि बिभागले उक्त कन्सलटेन्सीका संचालकलाई २४ घण्टा भीत्र बिभागमा हाजिर हुन पत्र दिंदै कन्सलटेन्सीलाई सिल गरेको छ । बिभागले उक्त कन्सलटेन्सीबाट थप अनुसन्धानको लागि बिभिन्न कागजात भएका १० थान, प्रयोगमा रहेका दुई थान रजिस्टर,  एक थान सिपीयु, बिभिन्न व्यक्तिहरुको ४० थान पासपोर्ट र मेडिकल तथा सम्बन्धित कम्पनीको १/१ थान नगदी रसिद बरामद गरेको छ ।


वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारमा पठाउन इजाजत नलिई वैदेशिक रोजगारमा पठाईसकेको भए कम्तिमा ३ बर्षदेखि ७ बर्षसम्म जेल सजाय हुने व्यवस्था छ । त्यस्तै विदेश नपठाईसकेको भए त्यसको आधा सजायको व्यवस्था छ । पैसा अशुलीको हकमा भने इजाजत नलिई वैदेशिक रोजगारमा पठाउनको लागि पैसा अशुली गरेमा जति पैसा अशुली भएको छ त्यसको ५० प्रतिशत थप जरिवाना अशुली गरि पिडितलाई भराईदिने व्यवस्था छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा पठाउने इजाजत नपाएका कन्सलटेन्सी तथा  व्यक्तिहरुले बैदेशिक रोजगारमा पठाउने काम गरिरहेको सूचनाहरु नियमित आईरहेका छन् । वैदेशिक रोजगारमा जान चाहेका युवाहरु आफै इजाजत नभएकाहरुले ठगि गर्न सक्ने भन्दै वैदेशिक रोजगारमा पठाउन सक्रिय रहेका अवैध कन्सलटेन्सी र व्यक्तिहरु बिरुद्ध उजुरीहरु दिन थालेका छन् ।

छापा हानिएको भिडियो रिपोर्ट तल हेर्न सक्नुहुन्छ:

काठमाडौँका दुई कन्सल्टेन्सीमा छापा, कार्यालयनै बन्द गरेर भागेपछि अवैध कन्सल्टेन्सी सिल

यस बिषयमा तपाइको प्रतिक्रिया...!