कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौँ । कतार सरकारले कोरोनाभाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ । बुधबार कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले शुक्रबार देखि लागुहुने गरी नयाँ स्वास्थ्य सतर्कताका मापदण्ड जारी गरेको हो । 

कतार सरकार, मन्त्रिपरिषदले २६ मार्च २०२१ देखि लागु हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३ बुँदे विभिन्न प्रकारका निर्देशनहरु जारी गरेको कतार स्थित नेपाली दूतावासले जनाएको छ । 

जारी गरेको मापदण्ड अनुसार सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने भएको छ । यस्तै अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाईने भएको छ । 

कतारभित्र रहेका सबै सार्वजनिक पार्क, सार्वजनिक स्थलहरु, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका २ जना भन्दा बढी जान नपाईने भएको हो । 

यस्तै व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशत सिमित गरिएको र १२ वर्ष भन्दा कम उमेरका बालबच्चाहरुलाई त्यस्ता स्थलमा जान बन्देज लगाईएको, साथै कतारमा रहेका परम्परागत बजार र थोक बजारमा पनि यही नियम लागु गरिएको छ । 

सवारी साधनमा वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्कँदा सवारी साधाना मास्क अनिवार्य लगाउनै पर्ने तर सवारी साधानमा एक जना मात्र भए मास्क नलगाए पनि हुने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने,घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने जस्ता मापदण्ड लागु गरेको हुँदा पालना गर्न अनुरोध गरेको छ । 

यस्तै कतार सरकारले समय समयमा जारी गर्ने निर्देशनहरुको पूर्ण पालना गरी कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन तथा नियमहरुको उल्लंधनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले भनेको छ । 

No description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!