म्यानपावर एजेन्टले बनाइदिए नक्कली पिसीआर रिपोर्ट, भिजिटमा युएई जान लागेका ७ पक्राउ

Posted on: 04 Jan, 2021

पुस २०, काठमाडौँ | फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना नेपाली शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु भिजिट भिसामा युएई जान लागेका थिए । 

युएई जाने क्रममा विमानस्थलका कर्मचारीहरुलाई शंका लागेर जाँच गर्दा उनिहरुको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको भेटिएको थियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले सातै जनालाई प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ परेकाहरुलाई गौशाला प्रहरीले हिरासतमा राखेको छ । पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेज नारायण महतो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुर  घर भएका रोशन प्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोक घर भएका माइला तामाङ छन् । उनीहरुको साथबाट ६ जनाको ह्याम्स अस्पताल र एक जनाको सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरी काठमाडौँको नक्कली पीसीआर रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुले मेनवार कम्पनीमार्फत भिजिट भिसामा दुबईमा काम गर्ने प्रलोभनमा जान लागेको बयान दिएका छन् । उनीहरुको नक्कली रिपोर्ट एजेन्टले बनाइदिएको युवाहरुले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!