आज देखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने,के-के चाहिन्छ कागजात ? यस्तो छ प्रक्रिया

Posted on: 01 Jan, 2021

पुस १७, काठमाडौँ  । आजदेखि संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने भएका हुन् । 

एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइनबाट पुनः श्रम स्वीकृति सेवा लिन सक्ने बैदेशिक रोजगार विभागले जनाएको छ । 

अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)' मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ । त्यस्तै  श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन । त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुनेछ । 

अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन के-के चाहिन्छ ?

१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि 

२. राहदानीको प्रतिलिपि

३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा

४. रोजगार करारपत्र

५. जीवन बिमा  

६. कल्याणकारी कोषमा रकम भुक्तानी 

माथिमा ६ कागजात भएमा सम्बन्धित देशको दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ । पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!