मलेसियाको टप ग्लोव्स कम्पनी नेपालीलाई निकाल्ने निर्णयबाट पछि हट्यो

Posted on: 23 Dec, 2020

पुस ८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को समस्याका समयमा सामाजिक दुरी कायम नगरेको तस्वीर अन्यलाई पठाएको अभियोगमा कामबाट निकालिएका एक नेपालीलाई कामबाट निकाल्ने निर्णयटबाट टप ग्लोव्स कम्पनी पछि हटेको छ । कम्पनीको सूचना चुहाएको अभियोगमा यसघि निकालिएको भनिएका २७ वर्षीय युवराज खड्काले कुनै कारवाहीको भागिदार हुनु नपर्ने र कम्पनीमा श्रमिकका गुनासो सुन्नका लागि तीन वटा हेल्पलाइन सुरु गरिएको टप ग्लोव्सले जनाएको हो ।

बेलायती सञ्चार माध्यम रोयटर्सका अनुसार खड्काले गत मे महिनामा श्रमिकको भिडभाड झल्किने दुईवटा तस्वीर खिचेका थिए र अधिकारकर्मीलाई पठाएका थिए । कम्पनीले सुरुमा खड्कालाई रोजगारीबाट निकाल्ने निर्णय गरेपनि अन्तराष्ट्रिय मञ्चहरुमा सो विषयमा पुनः विवाद सुरु हुन सक्ने र यसले कम्पनीलाई क्षति पुग्ने निश्कर्ष सहित कारवाही फिर्ता लिएको अनुमान गरिएको छ । टप ग्लोव्सका एक व्यवस्थापकले एक रेडियो अन्तर्वार्तामा आफूहरुले यस विषयमा कम्पनीका सल्लाहकारहरुसँग छलफल गरेको र सोका आधारमा पछिल्लो निर्णय गरिएको बताएका हुन् ।

सो घटनापश्चात टप ग्लोव्सले तीनवटा हेल्पलाइन सुरु गरेको छ । एउटा श्रमिकको गुनासो सुन्न कम्पनीले नै सञ्चालन गर्नेछ भनें एउटा कम्पनीको सल्लाहकार तथा अर्को अडिट गर्ने कम्पनीले व्यवस्थापन गर्नेछ । ति व्यवस्थापकले खड्काले कम्पनीलाई कुनैै सुझाव नदिएको तर समस्यामा सुधार गरिसकिएको बताएका छन् । टप ग्लोव्स मलेशियामा कोरोना भाइरसका संक्रमित धेरै फेला परेको कार्यस्थल हो जहाँ यहि महिना ५ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । अन्य ग्लोव्स कम्पनीहरुमा पनि ठूलै संख्यामा श्रमिक कोरोनाको संक्रमणमा परेको समाचार सार्वजनिक भएका छन् । गत हप्ता टप ग्लोव्स कम्पनीमा कार्यरत एक नेपालीले कोभिड-१९ को संक्रमणका कारण नै ज्यान गुमाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!